सूचना अझै पनि सहज तरिकाले नपाएको नागरिकको गुनासो

|

नेपालगन्ज/  बास नेपाल र एकाउन्टबिलिटी ल्याबको आयोजनामा भएको सुचनाको पहुँच बिषयक अन्तक्रियाका सहभागिहरुले सुचनाको हकमा आम नागरिकहरुको सहज पहुँच हुन नसकेको गुनासो गरेका छन् । सूचनाको हक सम्बन्धिको ऐन २०६४, नियमावली २०६५ आएको दशकौं बितिसक्दा समेत आम नागरिकहरुको पहुँच सार्वजनिक सूचनामा हुन नसकेको सहभागिहरुको भनाई थियो।

नेपालगञ्ज १२ का रामु चिडिमारले नेपालगञ्ज उपमहानगरपालिकाका धेरै वडाहरुमा कर्मचारीहरु राख्दा सर्वसाधारणलाई सूचना नदिएको बताए। शिक्षक सैलेन्द्र चौधरीले स्वास्थ्य र शिक्षा लगायतका विषयमा हुनुपर्ने सूचना प्रवाह सहज तरिकाले हुन नसकेको बताए। त्यसैगरि बिष्णु शर्माले मागिएका सूचना सहज तरिकाले उपलब्ध नहुने गरेको बताए । अपाँगता अधिकारकर्मी पुष्प उप्रेतीले सार्वजनिक निकायमा दोभाषे नराखिदा अपांगता भएका व्यक्तिहरुले सूचना प्राप्त गर्न कठिनाई भएको बताए । बाल अधिकारकर्मी अञ्जना चतुर्वेदीले युवाहरुलाई सूचनाबाट बन्चित गर्न नहुने बताइन् भने अर्का बाल अधिकारकर्मी साहिल अन्सारीले मेला, महोत्सवमा बालवालिकाको प्रयोग हुने गरेको जनाउँदै घोर आपत्ति जनाएका थिए ।

कार्यक्रममा प्रमुख सरोकारवालाको रुपमा सहभागि भएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखेलले सूचना शक्ति भएको बताउनुभयो साथै सबै जवाफदेही भई आम नागरिकलाई सूचना प्रबाह गर्नुपर्ने बताउनुभयो । सरोकारवाला जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोबिन्द प्रसाद पाण्डेले बाँकेमा सूचना प्रवाह प्रभावकारी हुँदै गईरहेको बताए । अर्का सरोकारवाला अधिवक्ता विश्वजित तिवारीले सूचनाको हक प्रचलनका लागि आम नागरिकहरु जागरुक हुनुपर्ने बताए । सरोकारवाला गैसस महासंघका केन्द्रीय सदस्य नामस्कार शाहले सूचना माथिको पहुँच स्थापित गर्नका लागि सूचनाको हक लगायतका संयन्त्रहरु कार्यान्वयन गर्नुपर्ने बताए।

नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी खिनानन्द अर्यालले उपमहानगरका तर्फबाट भईरहेको सूचना प्रबाह बारे बोलेका थिए । पत्रकार सावित्री गिरीले सहजिकरण गरेको कार्यक्रममा स्वागत एकाउण्टविलिटि ल्याबकी फेलो रमिता शाहले गरेकि थिईन । कार्यक्रमको उद्देश्य माथि प्रकाश ल्यावका फेलो तपेन्द्र बहादुर मलातीले पारेका थिए ।

२०८० पुष २०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।