
स्वदेशी वस्तुको प्रयोग गर्नु पर्नेमा जोड
नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन भएको छ । आजबाट शुरु भएको हाट बजारमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विस्टले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र कृषकले उत्पादन गरेका रैथाने खाद्यवस्तुलाई प्रचार प्रसार र प्रवर्दन गर्न हाट बजारले मुख्य भुमिका खेलेको बताउनुभयो साथै उहाँँले आगामी दिनमा एउटा ब्यवस्थित रैथाने बस्तुहरु पाईने हाट बजार नेपालगन्जमा सन्चालन गर्ने स्थल निमार्ण गरिने बताउनुभयो । त्यसै गरि लुम्विनी प्रदेशका सांसद कृष्णा केसी नमुनाले हाट बजार सन्चालनले समयको बचत हुने र स्वच्छ र ताजा खाना पाइने बताउनुभयो ।
नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दैआएको नाना चाचाले नेपालगन्जमा प्रत्येक शनिबार रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन गरिएको महिला उद्यमी तथा नाना चाचाका सञ्चालक निता जिसी मल्लले जानकारी दिनुभयो ।
नाना चाचाले स्थानीय महिला उद्यमीले उत्पादन गरेका बस्तुहरू बजारीकरण गर्ने, उत्पादित बस्तुको प्रचारप्रसार र बजारमा प्रतिस्पर्धा गर्ने, स्थानीय तथा रैथाने खाद्यवस्तुको संरक्षण र प्रवर्द्धनमा महिलाको सहभागितालाई अझ बढाएर लैजाने बताउनुभयो । नाना चाचाले प्रत्यक्ष स्थानीय उत्पादकसँग सहकार्य गर्दै दार्चुलाको बेसार, कैलालीको चुक, अछामको किबि, लोकल अण्डा, अचारलगायत रैथाने उत्पादनको बजारीकरण गरिरहेको र तिनै बस्तुको प्रवर्धनका लागि हाटबजारमा राखिएको सञ्चालक मल्लले बताउनुभयो । उहाँले महिला उद्यमीलाई हाटबजारमा आई आफ्नो घरेलु उत्पादनका सामग्री बिक्री गर्न आग्रह गर्नुभएको छ ।
हाटबजारले स्थानीयस्तरमा रहेका रैथाने खाना तथा परिकार र कपडालाई संरक्षण एवं प्रवर्धन गर्दै रैथाने कृषि, कला सीप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्गलगायत सबैलाई संलग्न गराउँदै रोजगार सिर्जना गर्न पहल गर्ने योजना बनाएको उहाँको भनाइ छ ।
नेपालमा रैथाने खाद्यवस्तुको व्यावसायिक रूपले उत्पादन तथा बजारीकरण गर्न सकेमा नेपालमै उत्पादित रैथाने बस्तुको संरक्षण पनि हुने र नेपालमै आत्मनिर्भर बन्न सकिने तथा विदेशतिर पनि जान नपर्ने रेष्ट्रो कप क्याफेका सन्चालक मन्जु केसीले बताउनुभयो ।
नाना चाचाले कोक्रोमासँगको सहकार्यमा नेपालगन्जबाट कपासद्वारा सफ कारीगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमबाट उत्पादन गरिएका बालबालिकाको कपडा उत्पादन र बजारीकरण तथा विक्री गर्दैआएको छ । नाना चाचाको आयोजना तथा रेष्ट्रो कप क्याफे तथा नेपालगन्ज ग्यालरीको सहकार्यमा प्रत्येक शनिवार सुर्खेतरोडस्थित रेष्ट्रो कप परिसरमा रैथाने उत्पादनका लुगा कपडा तथा खाद्यवस्तुको हाटबजार सञ्चालन हुने सञ्चालक मल्लले जानकारी दिनुभयो ।