काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा। जगत् उपाध्यायले जानकारी दिए ।
स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए । साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गरेका थिए ।
छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कदै आएका थिए । साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि उहाँको पार्थिक शरीर कात्तिक २९ गते बुधबार पशुपति अन्तिम विदाई र श्रद्धाञ्जलीका लागि दिउँसो १२ देखि २ बजेसम्म राखिने पनि जानकारी गराइन्छ ।
नयाँ पुस्तालाई सधैँ प्रेरणा दिने शान्तदासले जगदम्बा पुरस्कार, प्रतिभा पुरस्कार, लु स्युन,देवकोटा पुरस्कार, अभियान पुरस्कार, पारिजात सम्मानलगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको थियो । उहाँले बालवाङ्मय तथा अनुसन्धान केन्द्रबाट २०७९ सालको साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान प्राप्त गर्नु भएको थियो भने बालसाहित्य र बालबालिकाका क्षेत्रमा सक्रिय विभिन्न संस्थाले ‘बालसाहित्य रत्न’ उपाधि प्रदान गरेका थिए । उहाँका ३ छोरी र २ छोरा छन् । केन्द्र उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।