अमेरिका /नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार दिनुभएका प्रत्यासीहरूसँग आउँदो जुलाई १६ मा बहस कार्यक्रमको आयोजना गरेको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै संघको आसन्न निर्वाचनमार्फत नेतृत्वका लागि प्रत्याशी बन्नुभएका डा. अर्जुन बञ्जाडे र डिलुकुमार पराजुलीसँग नेजाले मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा नेजा-एनआरएनए प्रेसिडेन्सियल बहस कार्यक्रमको आयोजना गरेको हो ।
अध्यक्षका प्रत्यासीहरूलाई एक ठाउँमा उभ्याएर अमेरिकामा रहेका एनआरएनहरूका नेता तपाईंलाई किन बनाउने र तपाईं नै अध्यक्ष बन्नुपर्ने कारण के भनेर सार्वजनिक बहसमा खरो प्रश्न सोध्ने थलोको रूपमा नेजा-एनआरएनए बहस रहने गर्दछ।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्, अमेरिका, अमेरिकामा रहेका एनआरएनहरूको प्रतिनिधित्व समेत गर्ने संस्था भएकाले संघले आफ्नो नेता कस्तो बन्नुपर्छ भनेर सार्वजनिक बहस मार्फत यसलाई अगाडि ल्याउनुपर्छ भन्ने हिसाबले नेजा-एनआरएनए बहस कार्यक्रम व्यवस्थापनमा एनआरएनए अमेरिकाले नेजासँग सहकार्य गर्दै आएको छ । नेजा-एनआरएनए प्रेसिडेन्सियल बहस विगत केही वर्षदेखि हुँदै आएको छ ।
बहस कार्यक्रम बाल्टिमोरमा रहेको होलिडे इन एक्सप्रेस (Holiday Inn Express Towson#1100 Cromwell Bridge Rd, Towson, MD 21286) मा जुलाई १६, आईतबार अपराह्न २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
त्यस कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्नुहुँदै बहस कार्यक्रममा आउनेहरूका लागि उहाँहरूले चाहँदा बहस कार्यक्रम हुने होटलमा सम्पर्क गरी सहुलियत दरमा कोठा बुक गर्न सक्नुहुने संघका महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो।