म्याच फिक्सिङ मुद्दामा सागर थापासहित ६ जनाले पाए सर्वोच्च अदालतबाट सफाइ

|

काठमाडौं / नेपाली फुटबल टोलीका तत्कालीन कप्तान सागरसहित ६ जनाले सर्वोच्चबाट सफाइ पाएका छन् । म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका हुन् ।

सर्वोच्चका न्यायाधीसद्वय आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो । सर्वोच्चको फैसलासँगै सागरसहित सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका हुन् ।

यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै उनीहरुलाई सफाइ दिएको थियो । तर, सरकारी पक्षले उक्त फैसलाविरुद्ध २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो । अदालतले सफाइ दिए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) ले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाइसकेको छ ।

२०७७ असार ३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।