अस्पतालको जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

|

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानको स्वामित्वमा रहेका जग्गा अतिक्रमण हटाउन निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको आन्तरिक प्रशासन शाखाले बुधबार सबै अस्पताल तथा प्रतिष्ठानलाई पत्राचार गर्दै अस्पतालको जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षण सुनिश्चित गर्न आवश्यक कदम तत्काल चाल्न निर्देशन दिएको हो।

मन्त्रालयले अस्पतालको स्वामित्वमा रहेका जग्गा तथा संरचनामा भइरहेको अतिक्रमण रोक्न र हटाउन विशेष ध्यान दिन आग्रह गरेको जनाएको छ। साथै, सरकारी सम्पत्तिको संरक्षण गर्दै स्वास्थ्य संस्थाको सेवा प्रवाहमा कुनै अवरोध हुन नदिन सम्बन्धित निकायलाई सतर्क रहन भनिएको छ।

पत्रमा अस्पताल तथा प्रतिष्ठानलाई तीन बुँदे निर्देशन दिँदै आफ्नो स्वामित्वमा रहेका जग्गाजमिनको विवरण अद्यावधिक गर्न, अतिक्रमण भएका स्थानको पहिचान गरी कानुनी प्रक्रिया अगाडि बढाउन तथा भौतिक पूर्वाधारको नियमित अनुगमन गर्न भनिएको छ।

मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षण राज्यको प्राथमिक दायित्व भएकाले अस्पतालको जग्गा र संरचना सुरक्षित राख्न सबै निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

२०८३ बैशाख ३१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।