नेपालगञ्जमा मगर समुदायको प्रमुख पर्व मकर संक्रान्ति भव्य रूपमा सम्पन्न

|

नेपालगञ्ज । नेपाल मगर संघ नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा मगर समुदायको प्रमुख पर्व मकर संक्रान्ति विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल मगर संघ नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष दिनेश थापा मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, सहायक रथी प्रशान्त विक्रम राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरलगायत विभिन्न जातीय संगठनका अध्यक्ष, राजनीतिकर्मी तथा राष्ट्रिय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत आयोजित एकल सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम चन्दा घर्ती मगर, द्वितीय तिप्ती घर्ती मगर र तृतीय मानवी थापा मगर हुन सफल हुनुभएको थियो।
त्यसैगरी माघी कार्यक्रमलाई मध्यनजर गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य जाँच शिविरबाट करिब १५० जनाले स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि सेवा प्राप्त गरेका थिए।
माघी पर्वको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले मगर समुदायको संस्कृति, परम्परा र पहिचान प्रवर्द्धन गर्नुका साथै सामाजिक सद्भाव र सामुदायिक एकतालाई थप मजबुत बनाएको आयोजकले बताएका छन्। कार्यक्रमको सञ्चालन मानबहादुर थापा र रूपनी जीएमले गरेका थिए।

२०८२ माघ २, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।