नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेले शुक्रबार एकैदिन दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। पहिलो कार्यक्रमअन्तर्गत बाँके जिल्लामा हालैमात्र सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिल कुमार तामाङलाई औपचारिक स्वागत गरिएको थियो भने दोस्रो कार्यक्रम विभिन्न आदिवासी जनजाति संघ–संगठनहरुसँग अन्तरक्रिया गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी तामाङको स्वागत

फोनिज बाँकेका अध्यक्ष अशोक थापा मगरको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ तथा विशिष्ट अतिथि फोनिजका केन्द्रीय सदस्य प्रज्वल कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।
नेपाल आदिवासी जनजाति महासंघ बाँकेमा आवद्ध विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी तामाङलाई स्वागत गर्दै बाँकेमा सफल, प्रभावकारी र जनमुखी प्रशासनिक नेतृत्व प्रदान गर्न सुझाव दिएका थिए।
प्रमुख जिल्ला अधिकारी तामाङले फोनिज बाँकेसँगको भेट र सुझावलाई आफ्नो कार्यशैली सुधारका लागि महत्वपूर्ण रहेको बताउँदै, “बाँकेमा रहँदासम्म सक्दो राम्रो काम गर्छु,” भन्दै धन्यवाद व्यक्त गरेका थिए।
विविध संघ–संगठनसँग अन्तरक्रिया

दोस्रो चरणमा आयोजित अन्तरक्रिया कार्यक्रम पनि अध्यक्ष अशोक थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रज्वल कुमार श्रेष्ठ तथा नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर, युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगर, गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष भिम गुरुङ, तामाङ घेदुङका अध्यक्ष सरोज तामाङ, शेर्पा समाजका नुरी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ बाँके नेपालगन्ज नगर अध्यक्ष भुमण्डल श्रेष्ठ, कोहलपुर नगर अध्यक्ष कृष्ण बहादुर पुन मगर, सामुुदायिक सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोशी, कृष्णप्रसाद श्रेष्ठ , पुर्णलाल चुके, राजेन्द्र कुमार श्रेष्ठ ,खम्म पुन, माइलि तामाङ, कल्पना राना, तेज बहादुर पुन, शान्त कुमार चोैधरी लगायतको उपस्थितिमा फोनिज बाँके र नेपाल आदिवासी जनजाति महासंघ बाँकेका संघ संगठनहरु बिच अन्तरक्रिया भएको हो ।

फोनिज बाँकेका उपाध्यक्ष सोम गुरुङले स्वागत मन्तव्य प्रस्तुत गर्नुका साथै कार्यक्रमको उद्देश्यसम्बन्धी जानकारी दिएका थिए। अन्तरक्रियामा फोनिज बाँके र आदिवासी जनजाति महासंघ बाँकेका विभिन्न संघ–संस्थाबीच सहकार्य, सूचना प्रवाह, समुदायको हकहित र आगामी कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले आदिवासी जनजाति समुदायका चुनौती, अवसर र पत्रकारिताको भूमिकाबारे आ–आफ्ना धारणा राख्दै निरन्तर सहकार्य र साझा अभियानमा जोड दिएका थिए।






