नेपालगन्ज / बाँकेका पत्रकारहरूमा मुटु रोगको जोखिम उच्च रहेको पाइएको छ। नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वयमा तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क “मुटु जाँच शिविर” मा गरिएको स्वास्थ्य परीक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो।

भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख डा. कृष्ण अधिकारीका अनुसार ७७ जना पत्रकारको स्वास्थ्य परीक्षणमा ४५ प्रतिशतभन्दा बढीमा कोलेस्ट्रोल समस्या पाइएको छ। धेरैमा उच्च रक्तचाप र सुगरको समस्या पनि भेटिएको छ।

डा. अधिकारीले अस्वस्थ जीवनशैली र अनियमित खानपानका कारण मुटु सम्बन्धी जोखिम बढेको बताउँदै नियमित व्यायाम, धूमपान–मद्यपान त्याग र हरियो सागसब्जी तथा फलफूलको सेवन गर्न सुझाव दिनुभयो।
वरिष्ठ कार्डियोलोजिष्ट डा. विकास नेपालका अनुसार, रगतमा बढी कोलेस्ट्रोल हुँदा धमनी अवरुद्ध भई हृदयाघातको जोखिम बढ्ने भएकाले सचेतता अत्यावश्यक छ।

प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा गरिएको शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गर्नुभयो। उहाँले पत्रकारहरूले आफ्नै स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मुटु स्वस्थ र मन स्वच्छ राख्दै सकारात्मक पत्रकारिता गर्नुपर्ने सन्देश शिविरले दिएको बताउनुभयो।
२०८२ कार्तिक २२, शुक्रबार प्रकाशित






