बाल विवाहमुक्त वडा घोषणाका लागि सरोकारवालाको प्रतिबद्धता

|

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालित बालविवाह रोकथाममा सरोकारवालालको भूमिका सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा ६ नम्बर वडा कार्यालयमा भएको गोष्ठीमा २५ जना सहभागी थिए । गोष्ठीमा जनप्रतिनिधि, कर्मचारी, धर्मगुरु, समाजसेवी, क्याटरिङ व्यवसायी, गाडी चालक, टेलरिङ व्यवसायी लगायतको सहभागिता थियो ।

गोष्ठीमा बालविवाह रोकथाममा सरोकारवालाले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो । बाल विवाहमुक्त वडा/पालिका घोषणाका लागि सरोकारवालालाई प्रतिबद्ध बनाउने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको स्याक नेपालका बालविवाह रोकथाम परियोजना संयोजक जगदिश थापाले बताउनुभयो ।

गोष्ठीमा बालबालिका को हुन्, कुन उमेर समूहलाई बालबालिका भनिन्छ, नेपालको संविधान २०७२ को धारा ३९ मा भएको बालबालिकाको हक सम्बन्धि व्यवस्था, बालबालिका सम्बन्धि ऐन २०७५, बालविवाह के हो, बालविवाहले निम्त्याउने समस्या, बालविवाहका कारण र रोकथामका उपाय, बालविवाह रोकथाम र बाल विवाहमुक्त वडा/पालिका घोषणामा सरोकारवालाको जिम्मेवारी तथा भूमिका, वडा र पालिकालाई बाल विवाहमुक्त घोषणाका आधार लगायतका विषयमा पत्रकार नवीन गिरीले सहजीकरण गर्नुभएको थियो ।

त्यस अवसरमा सहभागीहरुबाट बालविवाह न्यूनीकरणका लागि कार्ययोजना तयार गराउनुका साथै प्रतिबद्धता संकलन गरिएको थियो । तालिममा वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंहले बालविवाह न्यूनीकरणका लागि सबैले हातेमालो गरेर संगसंगै अघि बढ्नुपर्ने बताउनुभयो । सरोकारवाला सबैको साझा प्रयासले मात्र बालविवाह जस्तो सामाजिक विकृतिलाई अन्त्य गर्न सकिने वडाध्यक्ष सिंहको धारणा थियो । उहाँले वड नम्बर ६ लाई बालविवाह मुक्त वडा बनाउन आफूहरु प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले बालविवाह मुक्त समाज निर्माणका लागि सरोकारवाला सबैको इमान्दार पर्यत्न जरुरी रहेको बताउनुभयो । तालिमको व्यवस्थापन स्याक नेपालका फिल्ड सुपरभाइजर त्रिभुवन प्रसाद यादवले गर्नुभएको थियो । नरैनापुरको ६ नम्बर वडालाई छिट्टै बाल विवाहमुक्त वडा घोषणा गर्ने तयारी थालिएको छ ।

 

२०७८ भाद्र २, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।