सर्वोच्चमा रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेता

|

काठमाडौं ।विपक्षी गठबन्धनका शीर्ष नेताहरु सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । उनीहरुले विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् । रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।

कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), नेकपा एमाले माधव कुमार नेपाल समूहका नेताहरुबीच भएको छलफल पछि उनीहरु सर्वोच्च अदालत गएका हुन् । बहुमत हुँदाहुँदै राष्ट्रपित  विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा ५ दलका सांसद् सर्वोच्च गएका हुन् । राष्ट्रपतिले गत जेठ ७ गते बेलुकी ५ बजे सम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकी थिइन् । सो समयसीमामा प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ र कांग्रेस सभापति देउवाले १४९ सांसद समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर ती दाबीमा सांसदहरूको नाम दोहोरिएको भन्दै राष्ट्रपति कार्यालयले दुबै जनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नसकिएको विज्ञप्ति जारी गरेकी थिइन ।

सो जानकारी सार्वजनिक गर्न लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन । राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने गरी घोषणा गरेकी थिइन ।

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।