दक्षिण कोरियामा रहेका नेपालीहरुले कोरोनाविरुद्धको खोप निःशुल्क पाउने

|

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप त्यहाँ बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । 

दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्धको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् ।

प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ ।

आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी र स्वयंसेवक पर्नेछन् । यद्यपि अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ ।

दक्षिण कोरियामा पछिल्लो समय कोरोनाको नयाँ प्रजाति पनि पुष्टि हुनुका साथै सङ्क्रमण तीव्ररुपले फैलिएको छ । केही सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने क्रम देखिएको थियो तर यो साता भने दैनिक सङ्क्रमितको सङ्ख्या ४०० भन्दा तल झरेको छ ।

यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताईए पनि नयाँ निर्णय गर्दै विदेशीहरुलाई पनि उक्त खोप निःशुल्क दिईने भएको हो । यससँगै दक्षिणको कोरियामा रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

सरकारले सङ्क्रमण थप फैलिन नदिन सामाजिक दूरी कायम राख्दै सार्वजनिकस्थलमा चार जनाभन्दा धेरैलाई भेला हुन बन्देज गरेको राससले जनाएको छ ।

२०७७ माघ ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।