श्याम थापा स्मृति फुटबल प्रतियोगिता सोमबार देखी सुरु

|
खजुरा / कैलालीको मसुरिया फुटबल एकेडेमीले स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सोमबार देखी खजुरा गाउँपालिका, १ सैनिकमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कैलालीको मसुरियाले दाङको युएनविसिलाई १–० ले पराजित गरेको हो । खेलको ६५औं मिनेटमा कैलालीका लागि दिवस बोरोराले गोल गर्दै टोलीलाई जित दिलाएका हुन ।
प्रतियोगिताको उद्घाटनको दिन सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष एवम नेपाली फुटबल टोलीका पुर्व कप्तान उपेन्द्रमान सिंह, स्वर्गीय श्याम थापाकी धर्मपत्नी याम कुमारी थापा,एन्फा केन्द्रिय सदस्य प्रदेश सिह राठोर, एन्फा केन्द्रिय सदस्य एवम नेपाल ओलम्पिक कमिटि सदस्य दिर्घबहादुर केसी ‘कुमार’, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्र बिक्रम थापा ‘पुकार’, उपाध्यक्ष सुर्यमणि अधिकारी, एन्फाका पुर्व उपाध्क्ष गोर्वद्धन सिह सम्झना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित राज भण्डारी, प्रतियोगिताको मुख्य प्रायोजक बाँके बर्दिया मैत्रीसमाज प्रतिनिधि लिल बहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासका लागि ग्रामिण केन्द्रित योजना ल्याउने तयारी गरिरहेको बताए । सैनिकमा भएको प्रतियोगिताले नेपालको गाउँघरमा फुटबल कति लोकप्रिय छ भनेर प्रमाणित गरेको शेर्पाले बताए । उनले भने, ‘प्रतियोगिता आयोजकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । गाउँघरमा पनि यस्तो स्तरीय प्रतियोगिता गरेकोमा । एउटा फुटबलको हस्तीको नाममा प्रतियोगिता गर्नु राम्रो कुरा हो । यसमा संघले आगामी दिनमा सक्दो सहयोग गर्ने छ ।’ माघको ९ गते सम्म चल्ने प्रतियोगितामा भारतीय दुइ टिम सहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ५ हजार, उपविजेताले ५५ हजार पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दिपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भैरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दिपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा न्यु डाँफे स्पोर्टस क्लब डी गाउँ र रेसुङा सहारा कोहलपुर तथा अर्को खेलमा एसएसएफए दाङ र डिएफए सुर्खेतबिच हुने आयोजकले जानकारी गराएको छ ।

२०७७ पुष २७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।