नयाँ आयामहरुको पर्खाईमा छौ -डोल्मा लामा

|

२०२० एउटा कठिन र चुनौतीपूर्ण बर्ष थियो ।हामी २०२० लाई बिदाई गर्दै नयाँ बर्ष २०२१ लाई स्वागत गरिरहेका छौ।

नयाँ आयामहरुको पर्खाईमा छौ ,३६५ दिनको पहिलो दिन नयाँ बर्ष हो । यो नयाँ बर्ष सामान्यतया हामी नेपालीहरूले मनाउने बिक्रम संवतको नयाँ बर्ष नभएपनि जनवरीको पहिलो दिनलाई सबैले नयाँ बर्षका रुपमा मनाउदै आईरहेको छौ ।

यतिबेला विश्वले नै महासंकट भोगिरहेको अबस्था छ ।
धेरैजसो विकसित देशहरूले हाल देशको अर्थतन्त्रमा ऋणात्मक वृद्धिको अर्थात कुल गार्हस्थ उत्पादन घटेको अवस्थाको सामना गर्नु परेको छ।

सन् २०२० लाई अनलाइन तथा भर्चुल माध्यम बाट धेरै सिकाई गरेको हुनाले डिजिटल ईयर भन्न पनि सकिन्छ र तुलनात्मक रुपमा देशब्यापी रुपमै अत्यन्तै पिडादायी बर्षको रुपमा मानिन्छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस सङ्क्रमणको प्रभाव अमेरिका मा प्रत्यक्ष रुपमा देखिएको छ।

अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ।

क्यालिफोर्निया राज्यमा पनि नेपालीहरुको बाक्लो बस्ति भएको क्षेत्र हो ।
यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा यसले ठुलो प्रभाव पारिरहेको छ ।लकडाउनका कारण सबै व्यापार व्यवसाय अझै खोल्न सकेको छैन ।

समुद्री क्रुज यात्रा, हवाईयात्रा र व्यापारिक सम्मेलनहरू पूर्ववत् अवस्थामा फर्कन त अझै केही महिना लाग्न सक्छ।
कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्यामा व्यापक वृद्धि देखिएको छ। नेपाली समुदायका थुप्रै ब्यक्तिहरु समेत संक्रमित भैरहेका छन् ।

अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्।

क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन्।

आर्थिक सामाजिक लगायतका अन्य विभिन्न क्षेत्रमा समेत यसको प्रत्यक्ष प्रभाव परिरहेको छ ।
कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु बढेसँगै जनजीवन सामान्य हुन नसक्दा नेपालीमा आफ्नो काम र व्यवसायको विकल्पहरु सोच्न थालिसकेका छन् ।

एकातिर महामारीको त्रास छ भने अर्कातर्फ आर्थिक दायित्वको सीमा, आफ्नो रोजगारी तथा व्यवसाय पुरानै अवस्थामा सञ्चालन हुने/नहुने अन्योलसमेत बढ्दै गईरहेको छ ।

सङ्क्रमणबाट सुरक्षित कसरी रहने भन्ने तनाव त छँदैछ त्यसमाथि भविष्यमा आइपर्ने आर्थिक सङ्कट तथा आफ्नो रोजगारी या व्यवसायको पनि चिन्ता बढेको देखिएको छ ।

हामीमध्ये धेरैले सन २०२० लाई आफ्नै किसिमले मुल्याँकन गरिरहेको हुन सक्छ र २०२० ले अवश्यै धेरै पाठ सिकाईसकेको छ ।

अभाव,दुख र चुनौतीसंग लड्न नयाँ अनुभवहरू छोडेर गएको छ ।
क्यालिफोर्निया राज्यमा अवस्थित नेपालीहरुको प्रमुख ब्यबसाय सौन्दर्य सम्बन्धि सलुनको ब्यबसाय नै हो ।

अहिले ति सलुन ब्यबसाय सगसगै अन्य ब्यबसाय पनि पुर्ण रुपमा सुचारु हुन सकेको छैन।

क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च सङ्क्रमण देखिन थालेका छन्।

सरकारबाट साना तथा स्थान ब्यबसायहरुले प्राप्त गर्ने सरकारी अनुदानहरुमा पनि आवश्यकिय कागजातहरुको प्रकृया पुरा गर्न नसक्दा सबैले प्राप्त गर्न सकिरहेको छैन ब्यबसायीहरुले थप चुनौती खेपिरहनु परेको छ ।

सबै आप्रवासी नेपालीहरु नयाँ बर्षको आगमन सगै आफ्नो रोजगारी तथा व्यवसाय पुरानै अवस्थामा सञ्चालन गर्ने समयलाई कुरिरहेका छन् ।

निष्कर्ष मा भन्नुपर्दा यतिबेला भेटघाट तथा सामुदायिक गतिबिधिहरू गर्ने सहि समय हैन साथै मानव सभ्यतामाथि नै एउटा प्रमुख चुनौती बनेर आएको महामारीको घडीमा त्रासमा बसेर आफूलाई कमजोर बनाउनुभन्दा आइपर्ने चुनौतीलाई सामना गर्दै जानुपर्ने बेला आएको छ ।

बर्ष सगै हामीहरु पनि परिवर्तन भईरहेका छौ ,जीवनका आयामहरु पनि परिवर्तनशील छन् हामी सबैलाई आशा छ नयाँ बर्ष २०२१ ले जीवनका नयाँ आयामहरुलाई सकारात्मक बाटोतर्फ लैजानेछ त्यसैले नयाँ आयामहरुलाई पर्खिरहेका छौ

यस्तो महामारीको बेलामा हामी सबै सचेत हौ र सुरक्षित बसौ साथै सबैको जीवन शान्त रहोस्,स्वस्थ रहोस् ,यो बर्ष महामारीको अन्त्य अनि सबैमा खुशी
अनि प्रगतिको बर्ष बन्न सकोस् ।

सम्पूर्ण लाई नयाँ बर्ष २०२१ को हार्दिक शुभकामना !

२०७७ पुष १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .