संखुवासभामा विप्लव समुह र नेपाल प्रहरीबीच दोहोरो फायरिङ

|

संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरका अनुसार जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो ।

प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

सुरुमा सादा पोशाकका प्रहरीको टोली घरतिर पुगेको थियो तर, राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको थियो ।

त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।

यसअघि त्यही आसपासकै क्षेत्रमा पनि प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोलीहानाहान भएको थियो ।

गोली चलाउँदै समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका छन्।

२०७७ पुष १२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .