धोको-विमल नेपाल

|

दुइ पहाडबीचबाट बहेको नालीबेली
निर्मल नदीको छेउमा फक्रेका
यो सिजनको पहिलो गुलाबहरु,
पूर्वबाट चलेको सिर्सिरे हावाले
बिस्तारै हल्लाउँदा,
सुर्योदयको प्रथम स्पर्शले
फूलका पत्रहरुमा टल्किएका शितबिन्दुहरु
भुईमा खस्न मानीरहेका थिएनन्

बिहानै काममा निस्किएका बटुवाहरु
एक एक गर्दै फूलका नृत्य हेर्दै
खुश्बूको गमकबीच बाटो छिचोल्दै थिए!
नदि पारीको मन्दिरमा बजेको टंग टंग घंटाले
र नदि किनारमा फुलेको फूलले
बस्तीमा नया दिन को स्वागत गर्दै थिए!

आज मलाई यो पहिलो फूल
मन्दिरमा चढाउन मन नलागेको कहाँ हो र?
भगवान मलाई आज माफ गर
बरु म श्रद्धाले तिम्रो पाउमा
आज मेरो शीर यसै झुकाउँला,
यो पहिलो फूल त आज
प्रेयसीको कपालमा सिउरिदिने धोको छ!
किनकि उनको मुस्कान मा
भगवान, मैले तिमीलाई देख्ने गरेको छु!

भगवान मलाई माफ गर!
बरु म श्रद्धाले तिम्रो पाउमा
मेरो शीर यसै झुकाउँला,
मेरा दुक्खहरु बरु
मेरै मनमा लुकाउँला!
यो पहिलो फूल त आज
प्रेयसीलाई दिने धोको छ !

-विमल नेपाल

२०७७ मंसिर ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।