नेपालमा कोरोना भाइरस संक्रमणबाट शनिबार ७ औं व्यक्तिको मृत्यु

|

सुर्खेत । नेपालमा कोरोना भाइरस समेतको संक्रमणबाट मृत्यु हुने संख्या ७ पुगेको पुष्टि भएको छ । शनिवार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले मृतक युवाको पीसीआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेका हुन् । भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनको शनिबार बिहान चिया खाइसकेपछि अकस्मात मृत्यु भएको थियो । उनलाई हृदयघात पनि भएको चिकित्सकले प्रतिक्रिया दिएका छन् । उनी बसेकै क्वारेन्टाइनमा ७९ जनासँगै बसेका छन् । कर्णालीमा संक्रमितको संख्या भने ७८ पुगेको छ र कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो । मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११९ पुगेको छ । कोरोना जितेकामध्ये ७२ पुरुष र ४७ महिला छन् । शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ।

२०७७ जेष्ठ १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।