साहित्यसागरले राष्ट्रकविको जन्म जयन्तिमा बिशेषाङ्क प्रकाशन

|
साहित्यसागर डटनेटको आमन्त्रणमा राष्ट्कवि माधवघिमिरेको १०२ औ जन्म जयन्ति जूममार्फत एक कार्यक्रम गरी सम्पन्न भयो । कार्यक्रममा सबै महादेशबाट प्रतिनिधित्व र सहभागिता भएको थियो । यस कार्यक्रमका प्रमुख अतिथिमा बरिष्ट साहित्यकार प्राध्यापक माननिय कुलपति श्री गंगाप्रसाद उप्रेतीको रहनु भएको थियो ।
अतिथिहरुमा एनआरएनए भाषा साहित्य विभागका संयोजक साहित्यकार श्री हिक्मत थापा अफ्रिकाबाट हुनुहुन्थ्यो त्यस्तै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनिर्वाचित अध्यक्ष श्री प्रकाश पौडेल माइला जापानबाट सहभागी हुनु भएको थियो । मस्को शहरबाट कवि एनआरएनए संस्कृति र सम्पदाका संयोजक श्री गोविन्दप्रसाद गौतम हुनुहुन्थ्यो । रशाको मस्कोबाट नै बरिष्ट साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ सहभागी हुनुहुन्थ्यो, अष्ट्रेलियाबाट यूवाकवि अनेसासका पूर्व महासचिव गणेश घिमिरे हुनुहुन्थ्यो ।
त्यस्तै गरी साहित्यकार डा मणी पनेरू पनि अष्ट्रेलियाबाट सहभागी हुनुहुन्थ्यो । मिडिलइस्ट कुवेतबाट एनआरएनए आइसिसिका सदस्य एवं संस्कृति तथा सम्पदा समितिका क्षेत्रिय संयोजक श्री अमित चाम्लिङ राई सहभागी हुनुहुन्थ्यो ।
अमेरिकाबाट बरिष्ट साहित्यकार श्री होमनाथ सुवेदी, श्री इश्वरीप्रसाद भट्ट, अनेसासका महासचिव श्री सर्वज्ञ वाग्ले, बरिष्ट पत्रकार श्री किरण मरहठ्ठा, र श्री मणि नेपाली पनेरू हुनुहुन्थ्यो  त्यस्तै गरी क्यानडाबाट कवि डा श्री भरतमान श्रेष्ठ कवि खगेन्द्र गौतम र सुरेन उप्रेतीको सहभागिता रहेको थियो ।
नेपालबाट बरिष्ट साहित्यकार ,प्राध्यापक श्री मोहन सिटौला, समालोचक भाषाविद् प्रा डा माधवप्रसाद पोख्रेल, समालोचक, कवि नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा श्री हेमनाथ पौडेल, त्यस्तै गरी प्राडा रामप्रसाद ज्ञावली, डा बिन्दु शर्मा, प्राडा शैलेन्दुप्रकाश नेपाल ,डा विष्णु केसी, डा जयन्ती रुपाखेती, डा बच्चुराम भट्टराई,डा मुकुन्द पथिक, कवि रमेश शुभेच्छु, कवि भुवनहरि सिग्देल, कवि ठाकुर शर्मा भण्डारी, डम्बर घिमिरे, मेघनाथ खनाल बन्धु, विपिन अगस्ति, ऋषि बराल, कल्पना खनाल, गीतकार संगितकार गायक रुपककुमार राई, कवयत्री गीता साप्कोटा आदिको उपस्थिति रहेको थियो ।
आशन ग्रहण पश्चात राष्ट्रकविको लोकपृय राष्ट्रिय भावनाले ओतप्रोत भएको “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” वोलको गीतलाई गायक रुपककुमार राईले गाएर कार्यक्रम शुरूभएको थियो । साहित्यसागरका सम्पादक रमेश शुभेच्छुले राष्ट्रकविको बिशेषाङ्कको बारेमा विद्वान साहित्यकार र
समालोचकहरुबाट गहकिला खोज पूर्ण रचनाहरु संग्रहित भएको कुरा बताउनु भयो ।
राष्ट्रकविलाई राष्ट्रमा मात्र सिमित गर्नेकी विश्वकवि बनाउने बारेमा प्राडा माधवप्रसाद पोख्रेलले उठाउनु भएको गहनताको चर्चा रहेको बताउनु भयो। त्यस्तै प्राध्यापक राजेन्द्र सुवेदी मोहन सिटौला डा मुकुन्द पथिक साहित्यकार कृष्णप्रकाश श्रेष्ठआदिले राष्ट्रकविका बिभिद आयाम बिधाका बारेमा चर्चा भएको जानकारी गराउनु भयो ।
बिभिन्न लेख अनुभूति कविता र गजलहरु संग्रहित रहेको जानकारी पश्चात कुलपति गंगाप्रसाद उप्रेतीबाट माधव घिमिरे बिशेषाङ्कको लोकार्पण भयो।
राष्ट्रकवि माधव घिमिरेको गीतिनाटकको बारेमा प्रकाश पार्दै डा बिन्दु शर्माले घिमिरेको राष्ट्रियता र मानवियतालाई सरल ढंगले प्रस्तुत गर्ने बिशिष्टताको चर्चा गर्नु भयो । शास्त्रियता र क्लासिक चिन्तनलाई पनि लोकलयमा भिजाउने र सुक्तियताको प्रयोगले गीतिकाव्यहरु सरल रहेका छन । मन्त्रहरु जस्तै गरी पढ्दा नै कण्ठ हुने कर्ण प्रिय सलिल झैँ छन भन्नु भयो । सातवटा गीतिनाटकहरु रहेको जानकारी समेत दिनु भयो ।
मालती मंगले ,हिमालपारी, बिषकन्या, किन्नराकिन्नरी, मल्लिका आदिको चर्चा गर्दै कवि शान्तिप्रेमी भएकोले कतै विद्रोह छैन, शास्त्रियलय चिन्तनलाई बोकेका छन् । कवि सबै सँग सौहार्द भएर रमाउने राष्ट्रवादी कवि भएको चर्चा गर्नु भयो ।
त्यस्तै अर्का वक्ता प्राडा माधवप्रसाद पोख्रेलले कविको बैशाख कवितामा शैल्यविज्ञान बारेमा विश्लेषण गरेर प्रभावित भएको कुरा राख्दै कविता लेखन सादना हो,  तपश्या हो, संसारभरिका कविताहरु पढेर कविता लेख्ने हो भने मात्र कविताको गहनता आउने कुरा राख्नु भयो र  एउटै कविता लेख्न पनि दशौं बर्ष लगाएको प्रसंग उल्लेख गर्नु भयो ।
माधव घिमिरेले “ज्योतिको पंखा उचाली” कवितालेखनको समयावधीको चर्चा गर्नु भयो ,कविहरुले उत्कृष्ट कविता लेख्न होड गर्नु पर्दछ भन्नु भयो साथै माधव घिमिरे संस्कृतका शव्दहरु भन्दा पनि प्राकृत शब्दहरुलाई चयन गर्ने कवि हुनु हुन्थ्यो र उच्चकोटीका गीतहरु रचना गर्ने पहिलो कवि हो भन्नु भयो  “बैशाखको पैलो फूल” कविताको चर्चा गर्नु भयो ।
त्यस्तै मन्तव्य राख्ने क्रममा साहित्यकार डा रामप्रसाद ज्ञवालीले माधव घिमिरेलाई औँठीमा मुगाहाल्न सफल कवि भनी चर्चा गर्नु भयो,  माटाको काँस र सुनको तीन प्यालामा बालेको द्धिपको उधाहरण दिँदै महत्व भनेको ज्योतीको हो भन्दै एनआरएन भाषा साहित्यका संयोजक हिक्मत थापाले प्रवासमा रहेर साहित्य साधना गर्ने साधकलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गर्न लागेको कुरा जानकारी गराउँनु भयो ।
वहाँले राष्ट्रकविलाई स्मरण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भयो । त्यस्तै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले साहित्यकारहरुलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गर्न र सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
साहित्यसागरलाई सफलतको लागि कामना पनि गर्नु भयो । साहित्यसागरका सल्लाहकार मोहन सिटौलाले घिमिरेका कृतिहरुलाई विश्व सामू पुर्याउनु पर्ने कुरामा जोड दिनु भयो ।
अग्रज साहित्यकारहरुका कृतिहरुलाई पुस्तकालयमा एकै ठाउँमा राख्ने व्यवस्था गरी अध्ययनलाई सहज बनाउनु पर्ने कुरामा जोड दिनु भयो र आफ्नो भनाई राख्दै एनआरएनएका संस्कृति तथा सम्पदा समितिका संयोजक गोबिन्दप्रसाद गौतमले नेपाली भाषा साहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनम बोष्टनमा भएको र त्यसबेला शुरु गरिएको यो अभियानलाई निरन्तरता दिएकोमा बधाइ तथा शुभकामना दिनु भयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका काव्यविभाग प्रमुख प्राडा हेमनाथ पौडेलले माधव घिमिरे प्रज्ञाको संस्थापक मध्यका एक जना हुनु हुन्छ भन्नु भएको थियो र प्रज्ञाले निकाल्न लागेको अन्तर्देशीय कविता संग्रहका लागि सबैलाई सूचित गर्न पनि अनुरोध गर्नु भयो । माधव घिमिरे समयानुकुल चल्न सिपालु कवि हुनु हुन्थ्यो ।
पन्चायत आउनु पूर्व, पँचायत काल र लोकतन्त्रमा पनि उत्तिकै पहुँचका साथ बस्न सफल हुनु भयो भन्दै मन्तव्य राख्नु भयो । कार्यक्रममा कृष्णप्रकाश श्रेष्ठ, गणेश घिमिरे, सर्वज्ञ वाग्लेले पनि मन्तव्य राख्नु भएको थियो र कवयत्री गीता साप्कोटाले माधवप्रसाद घिमिरेको बैशाख कवितालाई लयबद्ध वाचन गरेर सुनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि कुलपति श्री गंगाप्रसाद उप्रेतीले साहित्यसागरको कार्यको सराहना गर्दै अझ सफलता मिलोस् भन्ने कामना गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानले भर्खरै चीन सँग नेपाली साहित्यका पुस्तकहरुलाई चिनियाँ भाषामा अनुवाद गर्ने बिषयमा सम्झौता भएको कुरा जानकारी गराउनु भयो साथै यो बिषम परिस्थितिलाई प्रयोग गरी संसार भरीका नेपाली साहित्यका सिल्पीहरुलाई एक ठाउँ जुटाएको छ ।
हामीले प्रविधीलाई प्रयोग गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो,  अनेसास एनआरएन र अरु साहित्य संघ सँस्थाहरुको योगदानको उच्च मूल्याङकन गर्दछौ भन्नु भयो ।
साहित्यसागरका प्रधान सम्पादक मणि नेपाली पनेरुले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । वहाँले आफ्नो मन्तव्य राख्ने क्रममा साहित्यसागर यो अथाह पुस्तक र पठनिय सामाग्रिको सागर हो ।
यसलाई मेरो मरणोप्रान्त पनि अगाडि बढाउन आर्थिक रूपले सहयोग गर्न मेरो परिवारलाई इच्क्षा पत्र लेख्छु र यो वालक छ यसलाई हुर्काउने सबै साहित्यकार र श्रस्ठाहरुको दायित्व हो भन्दै आफ्नो भनाई राख्नु भएको थियो ।
आज विमोचित माधवप्रसाद घिमिरेको बिशेषाङ्कलाई नेपाल प्रज्ञाप्रतिष्ठानले सहयोग गरे कितावको रुपमा पनि प्रकाशन गरिने कुरा बताउनु भयो र साहित्यसागर डट नेटका प्रबन्ध सम्पादक सुरेन उप्रेतीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

२०७७ आश्विन ८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।